बाँके भदौ २६ गते ।
बाँकेमा कुष्ठरोगको जोखिम घट्नुको सट्टा नयाँ बिरामी फेला पर्ने क्रम बढ्दै गएको छ। गत आर्थिक वर्ष ०८२/८३ मा जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालमा १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्।
अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार पहिचान भएका बिरामीमध्ये ८१ जना बाँकेका हुन् भने ६२ प्रतिशतमा कुष्ठरोगका कीटाणु पत्ता लागेको छ। बाँके, बर्दियासहित विभिन्न पहाडी जिल्लाबाट स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमा समेत कुष्ठरोग देखिएको उनले बताए।
‘बाँकेमा कुष्ठरोगको प्रकोप दर घटेको छैन। हरेक वर्ष नयाँ बिरामी फेला पर्ने क्रम बढ्दै गएको छ,’ उनले भने, ‘लुम्बिनी प्रदेशमै बाँके उच्च जोखिममा रहेको जिल्ला हो।’
साइनिङ अस्पतालले नयाँ बिरामी पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, सम्पर्क परीक्षण, समुदायस्तरीय पहिचान शिविर, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, सचेतना र निःशुल्क उपचार सेवा दिँदै आएको छ।
अस्पतालका अनुसार आर्थिक वर्ष ०८१/८२ मा १७४ र ०८०/८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले कुष्ठरोगीमाथि हुने लाञ्छना र विभेद अझै हट्न नसकेको बताइन्। नयाँ बिरामीको खोजी र जनचेतनाका लागि सरकारले थप प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।
सरकारको विशेष कुष्ठरोग निवारण नीति तथा कार्यक्रम प्रभावकारी नहुँदा सरकारी स्वास्थ्य संस्थाले नयाँ बिरामी पहिचानका लागि साइनिङ अस्पताल र आईएनएफ नेपालजस्ता संस्थाको सहयोग लिनुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताएका छन्।












Discussion about this post