बाँके, भदौ ३१ गते ।
एउटा सामान्य मार्करभित्र लुकाइएको लागूऔषधबाट सुरु भएको बाँके प्रहरीको अनुसन्धान अन्ततः नेपालगन्जको एउटा घरको दराजसम्म पुग्यो।
मार्करभित्र लुकाइएको १० ग्राम ७८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएपछि प्रहरीले त्यसको स्रोत खोज्दै जाँदा एकपछि अर्को गर्दै तीन जना पक्राउ परेका हुन्।
घटना गत भदौ २९ गतेको हो। नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४१६० नम्बरको बस। प्रहरीलाई उक्त बसमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचना थियो। प्रहरीले बस रोकेर चेकजाँच सुरु गर्यो।
चेकजाँचका क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही पक्राउ परे। खानतलासी गर्दा मार्करभित्र लुकाएर राखेको अवस्थामा १० ग्राम ७८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो। त्यसपछि प्रहरीले सुरु गर्यो—यो लागूऔषध कहाँबाट आयो भन्ने खोजी।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरका अनुसार शाहीसँग सोधपुछ गर्दा उक्त लागूऔषध काठमाडौंसम्म पुर्याउनका लागि भे १ ख ४०७३ नम्बरको बसका सहचालक राप्तीसोनारी गाउँपालिका–१ का करिब २८ वर्षीय लाहुराम थारुले दिएको खुलेको थियो।
थारुको नाम खुलेपछि अनुसन्धान उनीतर्फ मोडियो। थारुसँगको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध नेपालगन्ज उपमहानगरपालिका–३ का ३४ वर्षीय मोहम्मद रहिम अन्सारीले दिएको खुलेको डीएसपी राठौरले बताए।
त्यसपछि प्रहरीले अन्सारीको घरमा खानतलासी गर्यो। भदौ ३० गते वडा प्रहरी कार्यालय नेपालगन्ज, इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले अन्सारीको घर तथा कोठामा रीतपूर्वक खानतलासी गरेको थियो।
खानतलासीका क्रममा अन्सारी सुत्ने कोठाको दराजमा लुकाएर राखेको अवस्थामा थप ४० ग्राम ७६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको डीएसपी राठौरले बताए।
यसरी एउटा मार्करभित्र लुकाइएको १० ग्राम ७८० मिलिग्रामबाट सुरु भएको अनुसन्धानमा अन्सारीको घरबाट थप ४० ग्राम ७६० मिलिग्राम बरामद भयो। प्रहरीका अनुसार दुवै ठाउँबाट बरामद भएको पदार्थको कुल शुद्ध तौल ५१ ग्राम ५४० मिलिग्राम पुगेको छ। अन्सारीको घरबाट प्रहरीले लागूऔषधसँग सम्बन्धित हुनसक्ने अन्य सामग्री र नगद रकमसमेत बरामद गरेको छ।
डीएसपी राठौरका अनुसार घरबाट नेपाली रुपैयाँ ९९ हजार र भारतीय रुपैयाँ १ लाख ४६ हजार बरामद भएको छ। त्यस्तै, विभिन्न कम्पनीका तीन थान किप्याड मोबाइल, नेपाल टेलिकमका तीन थान र एनसेलका नौ थान सिमकार्ड तथा एनसेलका सिमकार्डका ५० थान खोल बरामद गरिएको छ।
प्रहरीले एक थान डिजिटल तराजुसमेत बरामद गरेको जनाएको छ। त्यस्तै, भे ३ प ५३५१ नम्बरको पल्सर १५० सीसी मोटरसाइकलको सवारी दर्ता किताब पनि बरामद भएको डीएसपी राठौरले बताए। एउटा मार्करभित्र लुकाइएको लागूऔषधबाट सुरु भएको अनुसन्धानले घरको दराजसम्म पुगेर थप ठूलो परिमाणको लागू औषध बरामद गर्न सफल भएका छौं,´ उनले भने।
स्थानीयका अनुसार लागूऔषध नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय सूचना संकलनदेखि शंकास्पद गतिविधिमाथिको निगरानीसम्म सक्रियता बढाएको छ। एउटा व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान त्यहीँ सीमित नराखी लागूऔषधको स्रोतसम्म पुग्ने प्रयासले प्रहरीको अनुसन्धान प्रभावकारी भएको स्थानीयको भनाइ छ।
लागूऔषधका कारण युवा पुस्तामा पर्ने असरलाई ध्यानमा राख्दै प्रहरीले यस्ता घटनामा अझै सक्रियता बढाउनुपर्ने स्थानीयको मागसमेत छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रिन्स शाही, लाहुराम थारु र मोहम्मद रहिम अन्सारीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्ति संलग्न छन् कि छैनन् भन्ने विषयमा समेत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।









Discussion about this post