बाँके, असोज १३ गते ।
नेपालगन्जमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको नगर सभा हल (सिटी हल) सञ्चालनमा आउन नसक्दा भवन प्रयोगविहीनजस्तै बनेको छ । सङ्घीय सरकारले निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरेको सुविधा सम्पन्न सिटी हल सञ्चालनको जिम्मेवारी पाएको नेपालगन्ज उपमहानगरपालिका भने त्यसलाई चलाउनेभन्दा भवन कुर्ने अवस्थामा पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माण गरिएको सिटी हलको २०८१ फागुन १३ गते उद्घाटन गरिएको थियो । रु. ३३ करोड ३४ लाख ७५ हजार ३७० खर्चेर निर्माण गरिएको हल उद्घाटनका बेला स्थानीय अर्थतन्त्र चलायमान बनाउने र ठूला कार्यक्रमका लागि आवश्यक पूर्वाधार तयार हुने अपेक्षा गरिएको थियो । तर, उद्घाटन भएको लामो समय बितिसक्दा पनि हल नियमित सञ्चालनमा आउन सकेको छैन ।
ठूला कार्यक्रमका लागि होटल तथा निजी सभाहल प्रयोग भइरहँदा सरकारी लगानीमा निर्माण भएको सिटी हल भने सुनसान छ । यसले उपमहानगरपालिकाको सञ्चालन व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ ।
सिटी हलमा दैनिकजसो कार्यक्रम सञ्चालन हुन सके स्थानीयस्तरमा चहलपहल बढ्ने भए पनि अहिले त्यस्तो अवस्था नरहेको नेपालगन्ज–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्राले बताए ।
“यति ठूलो लगानीमा बनेको संरचना सञ्चालनमा आउन नसक्नु दुःखद् हो,” उनले भने, “उपमहानगरपालिकाले यसलाई कसरी चलाउने भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्छ ।”
मिश्राले सिटी हल सञ्चालनका लागि उपमहानगरपालिकाले विशेष चासो दिनुपर्ने बताए । उनले कार्यक्रम आकर्षित गर्न सहुलियत दर निर्धारण गर्नुपर्नेमा जोड दिए । ७९५ जना अट्ने क्षमताको हल लामो समयसम्म प्रयोगविहीन हुँदा स्थानीयवासी निराश भएको उनको भनाइ छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पनि राज्यको ठूलो रकम खर्चेर निर्माण भएको संरचनालाई प्रयोगविहीन राख्न नहुने बताए ।
“ठूलाठूला सरकारी कार्यक्रम होटलमा हुने गरेका छन्, उता सरकारी नगर सभा हल बन्द अवस्थामा छ,” उनले भने, “नगर सभा हल सञ्चालनका लागि उपमहानगरपालिका नेतृत्वले विशेष चासो दिन जरुरी छ ।”
उनका अनुसार सरकारी कार्यक्रमका लागि आफ्नै संरचना हुँदाहुँदै बाहिरका होटलमा कार्यक्रम गर्नुपर्ने अवस्था आउनु सिटी हल निर्माणको उद्देश्यसँग मेल खाँदैन ।
सिटी हलमा मुख्य सभाहलसहित चारवटा साना हल, प्रशासनिक कक्ष, पार्किङलगायतका पूर्वाधार निर्माण गरिएको छ । हल निर्माण भएपछि नेपालगन्जमा ठूला क्षमताका सभा, सम्मेलन तथा कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको थियो । तर, नियमित सञ्चालनको व्यवस्था नहुँदा करोडौँको लगानीबाट बनेको संरचनाले अपेक्षित उपयोगिता दिन सकेको छैन ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भने सिटी हल सहरको केन्द्रबाट टाढा भएकाले कार्यक्रम सञ्चालन हुन नसकेको बताए ।
उनका अनुसार सिटी हल निर्माण भएपछि दुई पटक नगरसभा र दुई पटक राजनीतिक दलका कार्यक्रम मात्र भएका छन् । त्यसबाहेक उल्लेख्य गतिविधि हुन सकेका छैनन् ।
“सिटी हल सञ्चालनको जिम्मा दिन बोलपत्र खोल्यौँ, तर ठाउँका कारणले होला, कुनै प्रस्ताव परेन,” रिजालले भने, “त्यसपछि अहिले नगरपालिकाले नै मान्छे राखेर रेखदेख गर्दै आएको छ ।”
उनले नगरको केन्द्रबाट टाढा भएकै कारण कार्यक्रम आकर्षित हुन नसकेको बताए । “अहिले कर्मचारीले भवन कुर्ने काम भएको छ,” उनले भने ।
करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको संरचना सञ्चालन गर्न नसक्नुमा स्थान मात्रै कारण हो वा व्यवस्थापनको कमजोरी पनि हो भन्ने प्रश्न भने यथावत् छ । सिटी हल सञ्चालनका लागि उपमहानगरपालिकाले स्पष्ट योजना, शुल्क निर्धारण, प्रचार–प्रसार र नियमित कार्यक्रम आकर्षित गर्ने रणनीति बनाउनुपर्ने देखिन्छ ।
निर्माण सम्पन्न गरेर उद्घाटन गर्नु मात्रै पूर्वाधारको उपलब्धि होइन । त्यसको नियमित उपयोग र आम्दानी हुने गरी सञ्चालन गर्नु स्थानीय सरकारको जिम्मेवारी हो । तर, नेपालगन्जको सिटी हलमा भने करोडौँको भवन तयार भए पनि त्यसलाई चलाउनेभन्दा कुर्ने अवस्था देखिएको छ ।










Discussion about this post