काठमाडौं असोज २३ गते ।
आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध ५८ रनको जित निकालेको छ । यो जितसँगै नेपालले प्रतियोगिताको सुपर–६ सम्भावनालाई बलियो बनाएको छ ।
गएराती ओमानको अल अमेरितमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । कुवेतलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो ।
कुवेतका ओपनर क्लिन्टो एन्टोले २६ रन बनाए । यासिन पटेलले १९ र मित भावसरले ११ रन थपे । यसबाहेक, कुवेतका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । कुवेतका तीन ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । त्यसअघि टस जितेर कुवेतले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रनको योगफल खडा गरेको थियो । नेपालबाट ओपनिङदेखि अन्तिम ओभरसम्म क्रिजमा उभिएका भुर्तेलले सर्वाधिक ६६ रन बनाए ।
उनले ५६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १२औँ अर्धशतक हो । भुर्तेललाई २०औँ ओभरको पाँचौँ बलमा कुवेतका अनुदीप चन्दमाराले बोल्ड गरेका थिए । यस्तै, आक्रामक ब्याटिङ गर्दै गुल्सन झाले ६ बलमा २० रन बनाए । उनले यसक्रममा तीन छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले पनि २० रन थप्दा कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । नेपालका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
कुवेतका अनुदीप र नविनराज राजेन्द्रनले समान दुई विकेट लिए । मोहम्मद अस्लम र मोहम्मद फारुकको नाममा समान एक विकेट रह्यो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् । नेपालले अब समूह चरणको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र जापानबीचको खेल शुक्रबार अल अमेरतमै हुने तालिका छ ।
प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा प्रवेश गर्नेछन् । जहाँबाट तीन टिमले आगामी वर्ष दक्षिण एसियाकै दुई मुलुक भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् ।











Discussion about this post