बाँके फागुन १८ गते ।
बाँके क्षेत्र नम्बर–२ मा राजनीतिक सरगर्मीसँगै जनआक्रोश चुलिएको छ। मतदानको मौन अवधि सुरु हुनुपूर्व यतिबेला बाँके क्षेत्र नम्बर– २ का आम मतदातामा आफूहरुलाई भोटका लागि मात्र प्रयोग गरिएको भन्नेमा आक्रोश बढेको हो ।
मधेश आन्दोलनको जगबाट उदाएका र सोही एजेण्डाको बलमा दुई पटकसम्म सांसद र पटक–पटक मन्त्री बनेका मोहम्मद इस्तियाक राईले अन्ततः आफ्नो व्यक्तिगत स्वार्थका लागि मधेशी र मुस्लिम समुदायलाई धोका दिएको आरोप स्थानीयले लगाएका छन् ।
जुन मधेशी र मुस्लिम मुद्दाको वकालत गर्दै राई सत्ताको शिखरमा पुगे, आज तिनै एजेण्डालाई तिलाञ्जली दिएर उनी नेकपा (एमाले) मा प्रवेश गरेपछि मतदाताहरू स्तब्ध भएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट पटक–पटक राजकीय लाभ लिएका राईले पार्टी र कार्यकर्तालाई संकटका बेला साथ दिनुको साटो सत्ता र शक्तिको लोभमा एमाले रोज्नुलाई ‘अवसरवादको पराकाष्ठा’ भनेकाछन् ।
क्षेत्र नम्बर–२ का मतदाताहरू भन्छन्, “हामीले पटक–पटक भोट दिएर उनलाई मन्त्री बनायौँ, तर हाम्रो अवस्था उस्तै रह्यो ।’ चुनावी सभाहरूमा विकासको खोलो बगाउने आश्वासन दिए पनि सत्तामा पुगेपछि उनले आफ्नो व्यक्तिगत र व्यापारिक स्वार्थलाई मात्र केन्द्रित गरेको गुनासो स्थानीयको छ ।
‘हामीले विकास पाउनका लागि भोट दिएका थियौँ, तर उनले त केवल आफ्नो पद र शक्ति मात्र बढाए,’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ जिवन डाँगीले आक्रोश पोखे ।
यस्तै अर्का स्थानीय कृष्णमोहन अहिर भन्छन्–‘आफ्नो र आफन्तलाई मात्र पोस्ने काम इस्तियाकले गर्छन् । त्यसको उदाहरण उनले खोलेको फ्याक्ट्रीमा गएर हेर्दा हुन्छ । सबै प्रष्ट हुन्छ ।’
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ तेलियनपुर स्थित मंगलशाह चोकमा रहेको कुखुराको दाना उत्पादन गर्ने ‘किसान’ फ्याक्ट्री र कुखुरा फार्म इस्तियाककै लगानीमा सञ्चालनमा छ ।
अहिर भन्छन्–‘जनताका लागि काम गरेको नेता हुँ भन्छन्, त्यहाँ भारतीय नागरिकले काम गरिरहेकाछन् । यता हामी भने कामको खोजीमा भारत धाउनुपर्छ ।’
यता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२२ किंगरियनपुर्वाका स्थानीय तैयब साई भन्छन्, “गाउँमा अहिले मुस्किलले बाटो बनेको छ, तर, नाला छैन । पानी परेपछि हिलाम्मे भएर हिँड्नै गाह्रो हुन्छ ।”
अर्का स्थानीय गौस मोहम्मद किंगरिया भन्छन्, “हामीलाई चाहिएको अनुसारको बाटो बनेको छैन । नाला सहितको सडक बने पुरैना–पुरैनी जोडिन्थ्यो र नेपालगन्ज आउजाउ सहज हुन्थ्यो ।”
मोहम्मद इस्तियाक राईले जसपाबाट टिकट लिएर पटक–पटक जितेको भन्दै बाँके क्षेत्र नं.२ मा भएका विकासको कामको श्रेय इस्तियाकको नभएर जसपाले लिनुपर्ने कमरुद्दिन राई बताउँछन् ।
पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्न नसक्ने र विकास पनि नगरेको टिप्पणी गर्दै उनी भन्छन्–‘मधेशी तथा मुस्लिम जनतालाई धोका दिएर जानेहरुले विकास गर्दैनन् र त्यस्ता स्वार्थी व्यक्तिहरुलाई चुनावबाट परास्त गर्न मतदाताहरुसँग आग्रह गर्छु । उनले पैसाको लोभमा, रक्सीको लोभमा आफ्नो मत नहाल्न आग्रह गरे ।
चुनावी मैदानमा होमिएका इस्तियाक राई यतिबेला आफूले गर्दै नगरेको कामको पनि जस लिएर गलत प्रचारप्रसारमा लागिरहेको डुडुवा गाउँपालिका वडा नम्बर–२ बेतहनीका अखिलेश केवट बताउँछन् ।
उनी भन्छन्–‘आफू मन्त्री हुँदा बाँकेकै विकासको मुहार फेरेको अफवाह फैलाइरहेकाछन्, यस्तो काममा उनले सामाजिक सञ्जालको बहुत राम्रो सदुपयोग गरेकाछन् । तर, जनता यति बेबकुफ छैनन की पत्ताई हाल्ने’
अखिलेश भन्छन्–‘यस्तो पनि नेता हुन्छन्, खाद्य मलको व्यवस्था गर भन्दा मेरो फेक्ट्रीबाट कुखुराको ‘गू’ (सुली) लैजा भन्छन् । त्यतीमात्र कहाँ होर भारतबाट मल तस्करी गर्न सिकाइरहेकाछन् ।’
सो क्षेत्रमा बुहसंख्या जनता कृषि कर्म गर्ने भएकाले समयमा मलखाद्य नपाउनु, सिचाँईको उचित प्रवन्ध नहुँनु र वर्षायाममा डुवान र कटानले सास्ती खेपनु परेको स्थानीयको भनाईछ ।
यस्तै बाँकेको संवेदनशील सामाजिक संरचनामा राईले सधैँ धार्मिक सद्भावको कार्ड खेल्ने गरेको आरोप समुदायमा लुकेको छैन ।
आफ्नो राजनीतिक दुनो सोझ्याउनका लागि हिन्दु र मुस्लिम समुदायलाई भावनात्मक रूपमा प्रयोग गर्ने तर, व्यवहारमा समुदायको उत्थानका लागि केही नगर्ने उनको प्रवृत्तीबाट अब दुवै समुदाय सचेत भएको स्थानीय समाजसेवी समेत रहेका ललित रौनियार बताउँछन् । उनी भन्छन्–‘सत्ता र शक्तिको आशक्तिमा आफ्नै धरातल बिर्सिएका राईलाई यसपटक बाँकेका जनताले सवक सिकाउनेछन् ।’













Discussion about this post