बाँके, भदौ ५ गते ।
सन् २०२७ (हज १४४८) मा हजयात्रा गर्न चाहने नेपाली मुस्लिम धर्मावलम्बीका लागि आवेदन खुला भएको छ। नेपाल हज समितिले यसपटक नेपालका लागि १ हजार २ सय जनाको हज कोटा निर्धारण भएको जनाएको छ।
समितिका अनुसार हजयात्राको अवधि ४० दिनको हुनेछ। हजमा जान इच्छुकले भदौ ३ देखि असोज १ गतेसम्म आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा आवेदन दिन सक्नेछन्।
आवेदनका लागि नेपाल हज समितिको सचिवालयको वेबसाइटमा उपलब्ध फाराम डाउनलोड गरी भर्नुपर्नेछ। त्यसपछि पहिलो किस्ताबापत दुई लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, पुतलीसडक शाखामा रहेको नेपाल हज समितिको खातामा जम्मा गर्नुपर्नेछ।
आवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको प्रतिलिपि, पहिलो किस्ताको बैंक भौचर, सेतो पृष्ठभूमिमा खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र बैंक खाताको चेकको प्रतिलिपि बुझाउनुपर्ने समितिले जनाएको छ।
हिँडडुल गर्न असक्षम तथा ७० वर्षभन्दा माथिका आवेदकले एक जना सहयोगी अनिवार्य रूपमा लैजानुपर्नेछ।
समितिले विगतमा हजका लागि आवेदन दिएर पनि हजयात्रामा जान नपाएका तथा पहिलोपटक आवेदन दिनेहरूलाई प्राथमिकता दिने जनाएको छ। आवेदकको छनोट भने पहिला आवेदन दिने आधारमा गरिनेछ।
थप जानकारीका लागि नेपाल हज समितिको सचिवालयमा ०१–४२१११०४/७२ मा सम्पर्क गर्न सकिनेछ। समितिले [email protected] मा इमेल गरेर पनि जानकारी लिन सकिने जनाएको छ।
समितिका अध्यक्ष मोहम्मद फाजीलले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन इच्छुक धर्मावलम्बीलाई आग्रह गरेका छन्।












Discussion about this post