बाँके वैशाख २८ गते ।
स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्ज जिल्ला कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोग (टीबी) पहिचानका लागि विशेष परीक्षण अभियान सुरु गरेको छ ।
स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहका अनुसार कारागारभित्र सञ्चालन गरिएको विशेष शिविरमा एआई आधारित एक्स–रे प्रविधिमार्फत क्षयरोगको खोजपड्ताल भइरहेको हो ।
उनका अनुसार कृत्रिम बुद्धिमत्तामा आधारित उक्त प्रविधिले छातीको एक्स–रे विश्लेषण गरी फोक्सोमा देखिने असामान्य दाग तथा संक्रमणका आधारमा क्षयरोगको सम्भावना पहिचान गर्छ । बिरामीको एक्स–रे तस्वीर कम्प्युटर सफ्टवेयरमा राखिएपछि एआई प्रणालीले सम्भावित जोखिमको विश्लेषण गरी रिपोर्ट प्रदान गर्ने व्यवस्था रहेको उनले बताए ।
शाहका अनुसार यस विधिबाट छिटो, प्रभावकारी र सहज रूपमा क्षयरोग पहिचान गर्न सकिने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा यसको प्रयोग बढाइएको छ ।
शिविरमा सहभागी रोशनलाल चौधरीले प्रदेश सरकारको क्षयरोगमुक्त अभियानअन्तर्गत रोग पहिचान तथा उपचार पहुँच विस्तारका कार्यक्रम सञ्चालन भइरहेका बताए । उनले प्रदेश सरकार तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।
निर्देशक चौधरीले एआई एक्स–रे प्रविधिले फोक्सोसम्बन्धी क्षयरोग पहिचानमा सहजता ल्याएको बताए । त्यस्तै, ज्ञानेन्द्र श्रेष्ठले समुदायस्तरमै रोगी पहिचान गरी उपचारमा ल्याउन सके मात्र नेपाललाई क्षयरोगमुक्त बनाउन सकिने धारणा राखे ।
प्रकाश ढुंगानाले कारागारभित्र रहेका कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए ।
कारागार व्यवस्थापन विभाग, जिल्ला कारागार बाँके र विराट नेपाल मेडिकल ट्रस्टको समन्वयमा सञ्चालन गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार शिविरमा कारागारका ८४७ जना कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारी गरी करिब ९०० जनाको क्षयरोगसँगै एचआईभी परीक्षणसमेत गरिनेछ ।













Discussion about this post