बाँके, भदौ ३० गते ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै साइबर अपराध र अनलाइन जोखिमसमेत बढिरहेका बेला बाँकेको खजुरामा बालबालिका तथा युवालाई साइबर सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे सचेतना दिइएको छ।
६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा युवा अभियान लुम्बिनी प्रदेशले खजुरा गाउँपालिकाको समन्वयमा कार्यक्रम गरेको हो। कार्यक्रममा वडा स्तरीय बाल सञ्जाल, किशोरी सञ्जाल र लियो क्लब खजुराका प्रतिनिधि तथा सदस्य गरी करिब ५० जना विद्यार्थी तथा युवाको सहभागिता रहेको युवा अभियान लुम्बिनी प्रदेशकी महासचिव अञ्जना धितालले बताइन्।
उनका अनुसार सहभागीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सूचना तथा डिजिटल पहिचान सुरक्षित राख्ने उपायबारे जानकारी दिइएको थियो। अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट, शंकास्पद लिंक र नक्कली अकाउन्टबाट हुन सक्ने जोखिमबारे पनि सचेत गराइएको थियो।
कार्यक्रममा साइबर सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे प्रशिक्षण दिँदै लियोका भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट बसन्त बस्नेतले साइबर सुरक्षा मोबाइल वा कम्प्युटरमा पासवर्ड राख्ने विषयमा मात्र सीमित नभएको बताए। व्यक्तिगत सूचना, डिजिटल खाता, फोटो, भिडियो, सञ्चार र अनलाइन पहिचानको सुरक्षा पनि साइबर सुरक्षाकै महत्वपूर्ण हिस्सा भएको उनले बताए।
सामाजिक सञ्जालमा आउने नक्कली उपहार तथा पुरस्कारका सन्देश, ओटीपी माग्ने व्यक्ति र अनलाइन ठगीका प्रयासबाट सचेत रहन उनले सहभागीलाई आग्रह गरे। ओटीपी र पासवर्ड अरूलाई नदिने, सामाजिक सञ्जालको गोपनीयता सेटिङ जाँच गर्ने तथा अपरिचित लिंकमा क्लिक नगर्न उनले सुझाव दिए।
किशोरी सञ्जाल खजुराकी अध्यक्ष समीक्षा ओलीले डिजिटल युगमा साइबर सुरक्षासम्बन्धी ज्ञान सबैका लागि आवश्यक भइसकेको बताइन्। प्रविधिले अघि बढ्न सहयोग गरे पनि यसको गलत प्रयोगले लामो समयसम्म असर पार्न सक्ने भन्दै उनले किशोरी तथा युवालाई आफ्नो गोपनीयता र व्यक्तिगत सूचनाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिन्।
‘पढ्दै कमाउँदै अभियान’का अभियन्ता नारायण सिग्देलले प्रविधिको सन्तुलित प्रयोगमा जोड दिए। मोबाइल, भिडियो गेम र सामाजिक सञ्जालमा अनावश्यक समय बिताउनुभन्दा प्रविधिलाई ज्ञान, अनुसन्धान, सीप विकास र सिर्जनात्मक काममा प्रयोग गर्नुपर्ने उनले बताए।
कार्यक्रममा खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओलीलगायतको उपस्थिति थियो। सहभागी विद्यार्थी तथा युवाले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको सुरक्षा र अनलाइनमा देखिने जोखिमबारे विभिन्न जिज्ञासा राखेका थिए।










Discussion about this post